नेकपा एस अराजक पार्टी हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीको पछिल्लो निर्णयमाथि आपत्ति जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने निर्णयमा नेकपा एसले चालेको कदम अराजनीतिक भएको आरोप लगाए । पार्टीको सोमवार बसे संसदीय दलको बैठकमा उनले कांग्रेसनजिक भएर सत्ता समीकरणलाई कमजोर बनाउने काम सो दलबाट भएको टिप्पणीसमेत गरे । सुदूरपश्चिम प्रदेशमा कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भएको उनको आरोप छ ।

कांग्रेसलगायतका विपक्षहरुको आशा पलाउने तथा जनतामा आशङ्का, अन्योल र निराशा केही मात्रामा भए पनि पैदा हुनेगरी नेकपा एसले सो निर्णय लिएको अध्यक्ष ओलीले बताए । कम्युनिष्ट साइनबोर्ड राख्ने, नेकपा राख्नु अगाडि र काम अरुको हितमा गर्ने र समाजवादको पक्षधरलाई कमजोर पार्नेखालको भूमिका सो दलको देखिए पनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यसाथ मिसन २०८४ लाई सफल पार्न लागिरहने उनले चर्चा गरे

ओलीले भने, ‘अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ । एसले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने भन्यो, हाम्रो समीकरणलाई असफल बनाउन नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत भयो । यो गलत छ ।’ सही दिशामा राजनीति फर्किंदै थियो, नेकपा एसले फेरि गलत निर्णय गर्न पुग्यो उनले भने, ‘अहिले यतिबेला आन्तरिक रुपमा विपक्षीहरुको आशा पलाउने गरी जनतामा आशङ्का, अन्यौल र निराशा पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो ।’

सो अवसरमा अध्यक्ष ओलीले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदहरुलाई सचेत गराए । पार्टी संसदीय दलका नेता अध्यक्ष ओलीले पार्टीको प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्र सांसदहरुले विभिन्न कार्यक्रममा जानसक्ने बताए । विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिन पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्र विदेश जान उपयुक्त हुने ओलीको भनाइ छ । अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा नफस्न पनि पार्टीका सांसदहरुलाई सचेत गराउनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर