इजरायलले इरानमाथि तत्काल जवाफी हमला नगर्ने भएपछि ठूलो युद्धको खतरा टर्‍यो

काठमाडौं ।  इरानले शनिवार राति  इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वका देशमा फैलन सक्ने सम्भावित ठूलो युद्ध तत्कालका लागि रोकिने सम्भावना बढेको छ । इजरायल–हमास युद्ध चलिरहेकै बेला इरानले इजरायलमा एकैरात तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि तत्काल ठूलो युद्धको सम्भावना बढेको थियो । तर अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दवाव दिएपछि इजरायल पछि हटेको छ ।

इजरायलको मन्त्रिपरिषद बैठकले इरानी आक्रमणको उपयुक्त समयमा जवाफ दिने निर्णय गरेपछि तत्कालका लागि दुई देशबीचको युद्ध रोकिने देखिएको हो । दुवै देश एकआपसमा भिडेमा अमेरिका, बेलायत, फ्रान्स लगयातका देश पनि इजरायलको सुरक्षामा तत्कालै सहभागी हुने र मध्यपूर्वका अरु देशहरु इरानको पक्षमा रहँदा ठूलो युद्धको सम्भावना थियो ।

तर इरानले अब थप आक्रमण नगर्ने बताउनु, अमेरिकाले तत्काल इरानविरुद्ध आक्रमण नगर्न इजरायललाई दवाव दिनु र आफू पनि युद्धमा सहभागी नहुने बताउनु तथा इजरायलले पनि उपयुक्त समयमा जवाफ दिने भन्दै कूटनीतिक निर्णय गर्नुले युद्ध नफैलने सम्भावना बढेको बीबीसीले जनाएको छ ।

शनिवार राति इरानले प्रहार गरेका तीन सयभन्दा धेरै ड्रोन तथा क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतभन्दा धेरैलाई प्रतिरक्षा प्रणालीले नष्ट गरिदिएको थियो । ड्रोन तथा क्षेप्यास्त्र नष्ट गर्न इजरायललाई अमेरिका, बेलायत र फ्रान्स लगायतका देशले पनि सहयोग गरेका थिए । इरानले गरेको अत्याधुनिक रकेट प्रहारलाई विफल बनाएको कारण अहिले विश्वभर नै इजरायली प्रतिरक्षा प्रणालीको चर्चा भइरहेको छ ।

नेपालीहरुलाई घर बाहिर ननिस्कन दूतावासको आग्रह

यसैगरी इजरेलमाथि इरानी हमलापछि इजरेलको तेलअभिवस्थित नेपाली राजदूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन पनि आग्रह गरिएको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूताबासले अनुरोध गरेको छ ।

दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ । इजरेलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरेली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएका छन् । उक्त आक्रमणपछि सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा-भेला नगर्ने भनी निर्देशन जारी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर