भक्तपुरको मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं । भक्तपुरको  मध्यपुरथिमिमा यस वर्षको बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । जिब्रो छेड्न २८ वर्षीय सुजन वागश्रेष्ठ बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पूजाआजा गर्न तयार भएर आएका थिए । यसअघि १२ पटक जिब्रो छेडाइसकेका कमीनाय कृष्णचन्द्र वागश्रेष्ठ, नाय पमाः जलकृष्ण पिलाश्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ,ले आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वागश्रेष्ठले सुजनलाई साथ दिएका थिए ।
जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुवा कमीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले दर्शनार्थी कै सामुन्ने जिब्रो छेडिदिएका थिए । त्यसपछि सुजन सबैलाई नमस्कार र अभिवादन गर्दै चन्द्राकारकोे भ्वाय् अर्थात् महादीप बोकेर नगर परिक्रमामा निस्ककेका थिए ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लगाउनु नपर्ने मान्यता रहेको स्थानीय दिलकृष्ण प्रजापतिले बताए ।
भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महादीपलाई मन्दिर बाहिर राखेर जिब्रो छ्डाएका सुजन मन्दिरभित्र प्रवेश गरेपछि आफ्नो जिब्रोको सुइरो निकालेर मन्दिरको भित्तामा ठोकेका थिए । त्यसपछि जात्रा पनि सम्पन्न भएको प्रचलन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर