मध्यपुरथिमिमा आज जिब्रो छेड्ने र सिन्दूरे जात्रा मनाइँदै
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने तथा ३२ देवदेवीको खट सिन्दूरे जात्रा आज मनाइँदैछ । यस वर्ष बोडेका २८ वर्षीय सुजन बागश्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । युवाहरूले नै संस्कृति बचाउनु पर्छ भन्ने सन्देश दिन र हरेक वर्ष जिब्रो छेडाउन युवाहरू तयार हुनुपर्छ भन्ने सन्देश दिन जिब्रो छेडाउन लागेको श्रेष्ठले बताए ।
नवौँ पटक बोडेका ५० वर्षीय बुद्धकृष्ण बागश्रेष्ठको कान्छो छोरा सुजनले गएको वर्ष पनि जिब्रो छेडाएको थियो । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिध्नबाधा आउने जनविश्वाश छ । मध्यपुर ठिमी वडा नम्बर २ मा रहेको गणेशको मन्दिर अगाडि गरेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने चलन छ । त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठमा परिक्रमा गर्दछ । परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकालिने चलन छ । (तस्बिरः फाइल)