भक्तपुरमा बिस्का जात्रा हेर्न हजारौं दर्शनार्थीको घुइँचो
काठमाडौं । नयाँ वर्षको अवसरमा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरूपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्रा अर्थात् बिस्केट जात्रा हेर्न हजारौं मानिस भेला भएका छन् । वैशाख १ गते ल्योसिंखेलमा उठाउने अष्टमात्रिका गणसहित लिङ्गो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस जात्रा हेर्न आएका हुन् ।
बिहानैदेखि चुपिँघाटमा स्नान थरेर ल्योसिंखेल भैरनाथ, भद्रकालीलगाउत अन्य देवदेवीको दर्शनार्थीको भीड लागेको छ । जात्रा हेर्न आउने स्थानीय र दर्शनार्थी यस वर्ष मध्ये दिउँसोसम्म योसिंङ द्यः अर्थात् ५५ हात लामो लिङ्गो नउठेपछि निराश भएर फर्किएका थिए । तर साँझ अबेरपछि लिंगो उभ्याइएपछि जात्राको रौनक बढेको थियो ।
भक्तपुरको बिस्काःअर्थात् बिस्केट जात्राअन्तर्गत चौथो दिन वा वर्षको अन्तिम दिन ३० गते भक्तपुर नगरपालिका–५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्षअर्थात् वैशाख १ गते दिनभरि जात्रा गरी साँझ ढाल्ने परम्परा रहँदैआएको छ ।
३० गते हिजो साँझ ७ बजेर ३० मिनेटमा हजारौँ व्यक्तिको अगाडि यहाँका बासिन्दाले ५५ हात लामो योसिङ द्यः अर्थात् लिङ्गो उठाएकोमा आज दिनभर जात्रा गरेर साँझ विधिपूर्वक पूजा गरी तान्त्रिक विधि पुर्याएर लिङ्गो ढाल्ने परम्परा छ ।
५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलन छ । त्यसका लागि आठ वटा मोटो एवं लामो डोरी बाँधेर चारैतिरबाट गोलाकार रुपमा बसेर लिङ्योलाई योसिंको प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइउने गरिन्छ ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवको ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ । यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।
लिच्छवीकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन सुरु गरिएको यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको विश्व प्रसिद्ध जात्रा बीँ स्यातः अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ । गःहिटीमा रहेको भैरवलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा अर्पण गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हात लामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।
लिङ्गो ढालेपछि ल्योसिंखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भद्रकालीको रथसँग जुधाइने प्रचलन छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु’ भनिन्छ । जात्रामा रथ जुधाउनुअघि बेताल भैरवलाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा वलि चढाएर रथ जुधाउने परम्परा छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ । विक्रम संवत्अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बींः सीत अर्थात् नागनागिन मर्यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको संस्कृतविद्हरूको भनाइ छ । इतिहासविद्का अनुसार किराँत शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुशीयालीमा लिच्छवी शासकले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको जन कथन छ ।