काठमाडौंमा सांस्कृतिक घोडेजात्रा पर्व सम्पन्न
काठमाडौं । चैत्र कृष्ण औँसी तिथिमा काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाइएको छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमाप्पा’ भन्ने राक्षसले तत्कालीन समयमा शहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ। तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई हानी गर्न सक्ने भय रहेकाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी शहरभर घोडा कुदाउने प्रचलन रहेको पाइन्छ ।
घोडा कुदाउँदा उसको टापले ‘गुरुमाप्पा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दुःख दिन नसक्ने र बालबालिकामाथि खतरा नहुने जनविश्वास रही आएको छ । घोडेजात्रा कै दिन काठमाडौंको टुँडिखेल नजिकै रहेका ‘लुकमा महाद्यो’ अथवा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ । यसैगरी घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको अश्वकला प्रदर्शन समारोहमा राष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो ।
यसैबिच ललितपुरको पाटन दरबार क्षेत्रमा घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारीसम्म पुगी घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ । सर्वसाधारणको उपस्थितिमा अष्टमान महर्जन ‘सानु’ले पाटनको मूल चोकमा ‘माछापुच्छ्रे’ घोडा चढेर जात्राको सुरुवात गरेका थिए । मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो । मल्ल राजाको प्रतीकसहित सर्वसाधारणले माछापुच्छ्रे घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो ।
स्थानीयका अनुसार मल्लकालीन राजाले शक्ति प्रदर्शनका लागि घोडा प्रदर्शन गरेको र अहिले त्यसलाई नै निरन्तरता दिँदै आइरहेको छ । मल्लकालदेखि नै पाटन दरबार क्षेत्र नजिक बसेका सर्वसाधारणलाई घोडा तबेलाको हेरचाहको जिम्मेवारी दिइएको थियो । त्यही समयमा सुरु भएको जात्रालाई आजसम्म निरन्तरता दिइएको हो भन्ने स्थानीयहरूको भनाइ रहेको छ ।