कागबेनीमा पूजाअर्चना गर्ने भक्तजनहरुको घुइँचो
काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो लागेको छ । चैते दशैअघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न नेपाल र भारतका ११ हजारभन्दा बढी भक्तजन एकत्रित भएका छन् ।
मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाममा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको छ । परापूर्वकालमा भुसुण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरुको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड दिने चलनको सुरुआत भएको विश्वास गरिन्छ ।
कागबेनीलाई धार्मिक ग्रन्थहरुमा भगवानको दैवी शक्ति प्रकट भएको स्थानका रुपमा समेत उल्लेख गरिएको छ । जसका कारण बर्सेनी कागबेनीमा दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्नका लागि देशका ७७ वटै जिल्लाबाट धार्मिक तीर्थालु आउने गर्दछन् । चैते दशैं र बडा दशैंको अवसर पारेर भक्तजनहरुले कागबेनीमा श्राद्ध, तर्पण र पिण्ड दिने चलन छ ।