“सहकारी ठगीमा कारबाही नगर्नु जनमतको अवहेलना र पीडितप्रति ज्यादती”

काठमाडौं ।  विवेकशील साझा पार्टीले सहकारी ठगी प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गरेको छ। शनिवार पार्टीले विज्ञप्ति जारी गर्दै सहकारी ठगी प्रकरणमा संलग्नहरूलाई  छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न र पीडितलाई राहत तथा परिपूरणको व्यवस्था गर्न माग गरेको हो।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञप्तिमा बहालवाला मन्त्रीहरूदेखि राजकीय पदमा आसीन वर्तमान तथा पूर्व पदाधिकारीहरू समेत सामेल विभिन्न सहकारी ठगी प्रकरणमा हजारौँ सर्वसाधारणको अर्बौँ रकम अपचलन हुँदा पनि सरकार मौन रहेको भन्दै आलोचना गरेको छ।

विवेकशील साझा पार्टीले सरकारमा संलग्न मन्त्रीहरू, पूर्व मन्त्रीहरू, विभिन्न दलका नेताहरूको मिलेमतो र सेटिङमा सर्वसाधारणको अर्बौँ रुपैयाँ अपचलन हुनु र पीडितको विल्लिबाँठ हुँदा पनि सरकारले प्रभावकारी छानबिन गरी दोषीलाई कारबाही नगर्नु जनमतको अवहेलना र पीडितप्रति ज्यादती भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा सरोकारवाला र सहकारी पीडितहरूको आवाजलाई बेवास्ता नगर्न आग्रह गर्दै सरकारमै रहेका कतिपय आरोपित मन्त्रीहरूले सत्ताको दुरुपयोग गर्दै दलीय दादागिरीको जगमा छानबिनलाई नै स्याबोटेज गरिरहेको सरोकारवाला र सहकारी पीडितहरूको भनाइलाई बेवास्ता नगर्न प्रधानमन्त्रीको विशेष ध्यानाकर्षण गराएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर