नेपाल बरोडासँग ३७ रनले पराजित

काठमाडौं । भारतमा भएको एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा नेपाल पराजित भएको छ। लगातार तीन खेल जितेर एक खेल अगाडि फाइनल पुगेको नेपाल बरोडासँग ३७ रनले पराजित भएको हो।
टस जितेर गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा पहिला ब्याटिङ गरेको बरोडाले ८ विकेटको क्षतिमा १५६ रन बनाएको थियो। बरोडाले दिएको १५७ रनको चुनौती भेट्न नसक्दा नेपाल ३७ रनले पराजित भएको हो। बरोडासामु नेपाल ६ बल अगाडि ११९ रनमा समेटिएको हो। नेपालका लागि सन्दीप जोराले ४३ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए । कप्तान रोहित पौडेल, सोमपाल कामी, अविनाश बोहोरा र आशिफ शेखलाई विश्राम दिएको खेलमा अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि गुल्सन झा र करण केसीले समान २र२ विकेट लिए भने ललित राजवंशी, प्रतिश जिसी र आकाश चन्दले समान १र१ विकेट हात पारे । फाइनलमा नेपालले आइतबार गुजरातसँग प्रतिस्पर्धा गर्नेछ।