लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेश गरिएको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्य ४४ जनाको हस्ताक्षरसहित दाबी पत्र बुझाइएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउन नयाँ राजनीतिक समीकरणमा सहभागी दल नेकपा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टीका दल नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दल नेता भगवती अधिकारी, स्वतन्त्र सांसद खड्ग बस्नेतसहित प्रदेशसभा सदस्यहरुको उपस्थिति थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको छ ।

यसअघि माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्रबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर