कांग्रेसको संसदीय रणनीति : विरोध पनि गर्ने, बैठक पनि चल्न दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागलाई निरन्तरता दिएको छ । कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारीसहित समिति गठन गर्नुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकको सुरुमै सो पार्टी सबै सांसदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई बोल्न समय दिएका थिए ।

सांसद यादवले सरकार पुनःगठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको सङ्कट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औँल्याए । उनले लामिछाने सञ्चारकर्मी हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट रु ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे ।

सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे । उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट गरे । उनले सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आम नागरिकप्रति आशा सिर्जना गर्न आग्रह गरे । तत्पश्चात् सभामुख घिमिरेले उठेका विषयमा आफ्नो र संसदको ध्यान गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर