विश्वासको मतको गणितीय चक्करमा मुख्यमन्त्री जम्कट्टेल

काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई सरकारमा सहभागी गराएर बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तेस्रो पटक विश्वासको मत लिने वातावरण तयार पारेका हुन् ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ । २०७९ पौषमा प्रदेशका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले त्यतिबेला प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।
बागमतीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी र हाम्रो नेपाली पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । बागमतीमा पटक–पटक गठबन्धन फेरिएपनि जम्कट्टेलले मुख्यमन्त्रीको पद भने छोड्नुपरेको छैन ।

यथास्थितिमा विश्वासको मत एकीकृत समाजवादीले नदिने

बागमतीमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने बताएको छ । आइतबार अपरान्ह बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको दलको बैठकले जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको हो । बागमती प्रदेशमा ७ सिट रहेको एकीकृत समाजवादी आफ्नो निर्णयमा अडिग रह्यो भने मुख्यन्त्रीको विश्वासको मत सम्बन्धि प्रस्ताव पास नहुने देखिएको छ । निर्णय बलिएको खण्डमा भने मुख्यमन्त्रीले बहुमत पाउने अवस्था रहन्छ ।

विपक्षमा मतदान गर्न काग्रेसको निर्देशन

प्रदेशको सबैभन्दा ठूलो लद नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो । बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले बताए ।

१ सय १० सदस्य रहेको बागमती प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवश्यक पर्छ । बागमतीमा नेपाली कांग्रेस ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ । राप्रपा र नेमकिपाले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर