अख्तियारद्वारा तीन करोड भ्रष्टाचार गरेको अभियोगमा ६ जना व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारी र मेडिकल व्यवसायीविरुद्ध विशेष अदालत काठमाडौंमा आज आइतबार मुद्दा दायर गरेको छ ।

कोभिड–१९ को उपचारका लागि मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा व्यापारी विशाल पण्डितसहित ६ जना व्यक्ति र एक कम्पनीविरुद्ध दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ राज्यलाई हानी–नोक्सानी गरेको पाइएकाले मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । विराटनगरमा रहेको कोशी अस्पताल कोभिड–१९ केन्द्रमा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) जडान र सञ्चालनका लागि सामग्री खरिद गर्दा परेका बोलपत्रमध्ये न्यून कबोल गर्नेलाई छनोट नगरी अनियमितता गरेको अख्तियारको दाबी छ । न्यून कबोल गर्ने र छनोट हुनेबीच दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँको फरक छ ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह विक र खोप अधिकृत उदेश श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो । यस्तै अख्तियारले हस्पिटेक इन्टरनेसनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर