चौबीसै घन्टा ठमेलबजार खुला गर्ने निर्णयको विरोधमा स्थानीयवासिन्दा

काठमाडौं । संघीय राजधानीको पर्यटकीय स्थल ठमेल बजार २४सै घन्टा खुला गर्ने निर्णयमा स्थानीय वासिन्दाले विरोध गरेका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४सै घन्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन्। ठमेलका घरधनीको शनिबार बसेको बैठकले ठमेललाई २४सै घन्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

काठमाडौं महानगरपालिका–२६ का पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले ठमेललाई २४ सै घन्टा खुला गर्ने निर्णय गर्नुपूर्व यस क्षेत्रका समस्याका बारेमा अध्ययन तथा छलफल गर्नुपर्ने बताए। ठमेलका स्थानीय वासिन्दाहरूले जिल्ला प्रशासन कार्यालयले ठमेल र दरबारमार्गलाई २४ सै घन्टा खुला गर्ने निर्णय गरी आचारसंहिता बनाउँदा यस क्षेत्रका घरधनीहरूलाई नसमेटेको भन्दै दुःख व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबीसै घन्टा सञ्चालन गर्नका लागि व्यवसायी, उपभोक्ता र श्रमिकले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेको छ। यस्तै, रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसाय गर्ने व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता पनि तयार गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर