सदनको बैठक सुचारु गर्न सभामुख घिमिरे छलफलमा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाही सहज रुपमा अघि बढाउने बातावरण बनाउन आग्रह गरेका छन् ।

सिंहदरबारमा आज शनिबार संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसँग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरेका हुन् । छलफलमा सहभागी नेपाली कांग्रेसका सचेतक सुशीला थिङलेले चैत्र १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिँदै भनिन्, “राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्म सार्ने सहमति भएको छ । गृहमन्त्रीमा बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडानमा कांग्रेस कायमै रहेको छ ।”
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताए । एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताए । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीका सम्बन्धमा उठेका विषयमा सम्बन्धित व्यक्तिले जवाफ दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताए । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन हुनुपर्ने माग गर्दै संसदमा निरन्तर विरोध गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर