पौराणिक कथा : सम्भोग क्रियामा कसले बढी आनन्द प्राप्त गर्दछ, स्त्री वा पुरुष ?
काठमाडौं । सम्भोग मानव जीवनको प्राकृतिक चाहना हो । प्राणी भएर यस पृथ्वीमा जन्म लिएपछि वयस्क अवस्थामा सम्भोगप्रति चाहना नराख्ने विरलै हुन्छ । शताद्वीयौंदेखि यो चर्चा वा वादविवाद चल्दैआएको छ कि रतिक्रियामा कसले बढी आनन्द प्राप्त गर्दछ, स्त्री वा पुरुष ? यो विषयमा सबैको एकमत नहुन सक्छ । अलग–अलग विचार हुन सक्छ । यीनै प्रश्नको उत्तर खोज्नेक्रममा सम्भोगप्रति विशेष लगाव राख्ने विद्वानहरूले पौराणिक कथालाई प्रामाणिक रूपमा उल्लेख गर्ने गरेका छन् । हिन्दुहरूको प्रसिद्ध ग्रन्थ महाभारतमा यस प्रश्नको उत्तर पाउन सकिन्छ । एकपटक धर्मराज युधिष्ठिर पितामह भीष्मको समीपमा गए र सोधे हे दातश्री तपाई मेरो द्विविधाको अन्त्य गर्न सक्नुहुन्छ ? यदि सक्नु हुन्छ भने कृपया बताउनुहोस् कि सम्भोग क्रियामा कसले बढी आनन्द प्राप्त गर्छन् स्त्री वा पुरुष ? तब भीष्मजी आज्ञा गर्नुहुन्छ कि हे युधिष्ठिर म तिमीलाई एउटा कथा सुनाउँदछु । भंगस्वाना र सक्राको । जसमा तिम्रो प्रश्नको जवाफ लुकेको छ । धेरै समय पहिलेको कुरा हो, भंगस्वाना नामका एक राजा थिए । उनी न्यायप्रिय र यशस्वी थिए । तर उसको कुनै पुत्र थिएन । एक बालकको चाहनामा उसले एक अनुष्ठान गरे । अनुष्ठानको नाम थियो, अग्निश्रुता । त्यो अनुष्ठानमा (हवन) अग्निदेवको मात्रै आह्वान गरिएको थियो । अग्निदेवको मात्र आह्वान गरेको देखेर देवराज इन्द्र काफी क्रोधित भए । इन्द्रले आफ्नो रिस प्रकट गर्न एक मौका खोज्दै थिए । ताकि राजा भंगस्वानाबाट एक गल्ती होस र त्यस गल्तीलाई समातेर उनीमाथि दण्ड गर्न सजिलो होस । तर भंगस्वाना यति होशियार राजा थिए कि देवराज इन्द्रलाई कुनै मौका नै दिन चाहन्न । राजा भगंस्वानाको चलाकीपूर्ण हवनक्रिया देखेर इन्द्र अझै क्रोधित हुँदै गए । एक दिन राजा शिकारका लागि जंगलतर्फ लागे । इन्द्रले सोचे यो सही समय छ, राजासँग बदला लिने उपयुक्त समय र इन्द्रले राजालाई सम्मोहित पारे । सम्मोहनका कारण राजा भंगस्वाना जंगलमा भट्किन थाले । राजा आफ्नो सम्मोहित अवस्थामा सुद्धिबुद्धिबाट बञ्चित थिए । उनलाई चार दिशा र सही मार्गदर्शनसमेत भएको थिएन । उनी पानीको प्यासले आकुल–ब्याकुल थिए । अचानक राजाले एक सानो नदी देखे, मानौं कि त्यो छोटो नदी समुद्र जस्तो देखिन्थ्यो । राजा नदीतर्फ अगाडि बढ्दै पहिले आफ्नो घोडालाई पानी पिलाए र पछि आफूले पनि पानी ग्रहण गरे । राजाले पानी मात्र के ग्रहण गरेको थियो, राजालाई यो महसुुस भयो कि मेरो शारीरिक स्थिति बदल्दै गइरहेको छ । राजालाई यस्तो महसुस भयो कि म पहिला पुरुष थिएँ, अहिले स्त्रीको रूपमा बदलिँदै गइरहेको छु । यो स्थिति देखेर राजा जोड–जोडले विलाप गर्न लागे कि ममाथि यो अवस्था किन आइलाग्यो ? र यो कसरी भयो ? मनैमन राजा संकोच मान्दै सोच्न थाले कि हे प्रभु म यो स्त्रीरूपी शरीर लिएर मेरो राज्यमा कसरी फर्कुँ ? मैले गरेको अग्निश्रुता अनुष्ठानबाट प्राप्त एक सय पुत्रहरू छन् । म मेरा ती पुत्रहरूसँग कसरी भेटौं ? मेरा रानी, महारानी जसले मलाई प्रतीक्षा गरिरहेका छन् तिनीहरूलाई म यो अनुहार कसरी देखाउँ ? मेरो पौरखका साथसाथ मेरो सम्पूर्ण राज्य सबैको अन्त्य हुनेछ । मेरा प्रजाजनको के हन्छ ? यस्ता तरहले राजा बिलौना गरिरहेका थिए । यही बिलौनाका बीच एक दिन स्त्रीरूपी राजा भंगस्वाना आफ्नो राज्य फर्के । स्त्री रूपी राजालाई देखेर युवराज, राजकुमार, रानी महारानी, प्रजाजन अचम्भित भए । राजाले राजसभा बोलाएर भने कि अब म राज्य सम्हाल्ने अवस्थामा रहिनँ । तिमीहरू सबै मिलेर राज्य सम्हाल म बाँकी जीवन जंगलमा गएर बिताउँछु । यसो भनेर राजा जंगलतर्फ गए र जंगलमा एक तपस्वीको आश्रममा तपस्या गरेर बस्न थाले । त्यहाँ पनि उनले योग बलबाट धेरै पुत्रहरूलाई जन्म दिए । एक दिन तीनै स्त्रीरूपी राजाद्वारा जन्म दिएका पुत्रहरूलाई आफ्नो पुरानो राज्यमा लगेर भन्न थाले कि यी मेरा सन्तान हुन् । जुनबेला म राजा थिएँ, तिमीहरूलाई जन्म दिएँ, अब म स्त्रीरूपमा रहँदा यिनीहरूलाई जन्म दिएँ । मेरो राज्यमा यीनिहरूलाई पनि समान अधिकार दिएर मिलीजुली राज्य गर्नू । आफ्ना पिताको आज्ञा मानेर ती सम्पूर्ण राजकुमारहरू अनुशासित भई सुखीपूर्वक राज्य गरेर बसेका थिए । उता देवराज इन्द्र राजा भंगस्वाना र उनका सन्तानहरूको आनन्दमय अवस्था देखेर अति क्रोधित हुन थाले र उनमा अझ बढी बदलाको भावना जागृत हुन थाले । इन्द्र सोच्न थाले कि भंगस्वानालाई मैले पुरुषको सट्टा स्त्रीमा बदलेर दुःख होइन सुख दिएँ । यस्तै सोचेर इन्द्रले एक ब्राह्मणको भेषधरी भंगस्वानाको राज्यमा गए । त्यहाँ गएर सबै राजकुमारको कानमा भ्रम उत्पन्न गराए । इन्द्रको कुटिल चालका कारण सबै राजकुमारबीच आपसी झै–झगडा भएर लड्न थाले । राज्यमा अशान्ति भयो । यो खबर सुनेर भंगस्वाना शोकाकूल भए । तीनै इन्द्ररूपी ब्राह्मण राजासमक्ष पुगे र सोधे हे राजन तिमी किन रोइरहेछौं ? राजा रुँदै-रुँदै इन्द्रलाई आफ्नो सम्पूर्ण जीवन कहानी सुनाए । राजाले निकै बिलौना गरेपछि इन्द्र आफ्नो सक्कली स्वरूपमा प्रकट भए र भने हे राजन तिमीले यज्ञ गर्दा मात्र अग्निदेवलाई आह्वान गर्यौं । तिमीले मेरो अनादर गर्यौं । त्यसकारण मैले तिमीलाई दण्ड दिएको हुँ । यो सुन्ने बित्तिक्कै भंगस्वाना इन्द्रप्रति त्वंशरणम् भएर माफी माग्न थाले । राजाको दयनीय अवस्था देखेर इन्द्रले राजालाई माफ गर्दै उनका सारा पुत्रहरूमा एकजना मात्रलाई जीवित देख्ने इच्छा छ भने वरदान माग्नुभन्दा भंगस्वना भन्छन्, हे देवराज इन्द्र यदि मेरा सारा पुत्रहरूमा एकमात्र जीवित हुने हो भने म स्त्री रूपमा हुँदा जन्माएकी कुनै एक पुत्रलाई जीवित गरिदिनुहोस । राजाको यस्तो इच्छा सुनेर इन्द्र हैरान भएर सोधे हे राजन तिमीले यस्तो इच्छा किन राख्यौ ? तब राजाले जवाफ दिए, हे इन्द्र एक पुरुषको प्रेमभन्दा एक स्त्रीको प्रेम धेरै बढी हुन्छ । स्त्री र पुरुषको सन्तानप्रतिको प्रेमको तुलना नै हुँदैन,अतःएव म स्त्रीरूपमा रहँदा मेरो कोखबाट जन्माएकी पुत्रहरूको जीवनदान माग्दछु । भीष्मले यो कथा सुनाउँदै युधिष्ठिरलाई भने, राजा भंगस्वानाको स्त्री प्रेममा देखिएको पवित्र, चोखो र निष्कपट व्यवहारका कारण इन्द्रले उनका सबै पुत्रहरू जीवित गरिदिए । त्यसपछि भंगस्वानालाई देखेर इन्द्र अति खुशी भई भने, हे राजन म तिमीलाई पुरानै राजा बनाउन चाहन्छु, तिमी वरदान माग भन्दा राजा भन्छन् हे देवराज इन्द्र म स्त्रीरूप मै खुशी छुँ, स्त्री रूपमै रहन चाहन्छु । यति राजाको कुरा सुनेर इन्द्र उत्सुक हुँदै सोधे कि हे भंगस्वाना तिमी राजा बनेर राज्य भोग्न चाहँदैनौं ? तब भंगस्वानाले भने, हे देवराज इन्द्र म के कारण पुरुष जीवनमा फर्कन चाहन्न भने सम्भोग क्रियाको बेला स्त्रीलाई पुरुषको तुलनामा कयौं गुणा आनन्द, तृप्ति र सुख प्राप्त हुन्छ । यो चरम सुख मैलै स्त्रीरूपी जीवनमा पाएँ । जुन म वर्णन गर्न असमर्थ छु । इन्द्रले भंगस्वानालाई तथास्तु भनेर वरदान दिए । इन्द्र स्वर्गलोकतर्फ लागे । युधिष्ठिर आफ्नो सम्पूर्ण प्रश्नको यथार्थ उत्तर पाएर भीष्म पितामहप्रति नतमस्तक रहे ।