भरतपुर महानगरलाई दियालो बङ्गला सञ्चालनको जिम्मा

काठमाडौं । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबिच श्क्रबार एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।

सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरे । सम्झौताअनुसार महानगरले यही चैत ९ गतेदेखि विसं २०८२ असार मसान्तसम्म उक्त बङ्गाल सञ्चालन गर्नेछ । यो अवधिमा नेपाल ट्रष्टको भरतपुरस्थित दियालो बङ्गलाको भवन तथा परिसर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै उपभोग महानगरले गर्ने, ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि, २०८० को अधिनमा रही सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । ट्रष्टले पूर्वराजा र राजपरिवारका नाममा रहेको २२ हजार रोपनीभन्दा बढी सम्पत्ति संरक्षण गरेको छ ।

के छ दियालो बङ्गलामा ?

बङ्गला (दरबार) भित्र पहिलो तलामा ठुलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्‍याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नम्बर राजा र ३ नम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् ।

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको एकाइ चलेको छ । ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर थियो । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर