होलीमा हुने सक्ने उच्छृंखल गतिविधि नियन्त्रण गर्न नौसय प्रहरी परिचालन गरिने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि पहाडी जिल्लामा मनाइने होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ ।

कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दै यस वर्ष उपत्यका प्रवेश गर्ने नाकाहरू र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेक गर्ने व्यवस्था मिलाएको छ । त्यस्तै ३० वटा मोबाइल भ्यान परिचालन गरी आवश्यकताबमोजिम गस्ती तथा चेक प्वाइन्टसमेत राखिने तथा उच्छृंखल गतिविधिलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजनाबमोजिम मुख्य सडक, चोक गल्लीमा समेत प्रहरीको परिचालन गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले भोलि नौसयभन्दा बढी प्रहरी तैनाथ गरिने जानकारी दिए ।

अनावश्यक हर्न बजाउने, होहल्ला गरी सवारी चलाउने, मोडिफाई गरी ठुलो आवाज निकाल्ने, तीन जना चढ्ने, हेल मेट नलगाउने, तीव्र गति र जिकज्याक गरी मोटरसाइकल कुदाउने उपर विशेष निगरानी गरिनेछ भने अन्य ट्राफिक नियम उल्लङ्घन गर्नेलाई समेत कडाइका साथ कारबाही गरिने छ ।

विशेषगरी मादक पदार्थ र लागूपदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको र अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्नेलगायतका उच्छृंखल गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन संयुक्त चेक प्वाइन्ट राखिने समेत प्रवक्ता श्रेष्ठले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर