पार्टी सदस्यताको भरमा एमालेमा टिकट पाउने छैन : ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता लिएको भरमा अब कार्यकर्ताले टिकट नपाउने बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटीले बिहबिार बोडेमा आयोजना गरेको जनप्रतिनिधिहरुको तीन दिने प्रशिक्षण कार्यक्रममा ओलीले भने “अब व्यक्तिको काम हेरेर मात्र टिकट वितरण गर्छौं ।”

उनले भने, “मैले पार्टीको सदस्यता लिएको यति वर्ष भो भनेर घमण्ड गर्नु भन्दापनि जनता र पार्टीको काममा सक्रिय भएकाहरुको मूल्यांकन हुनेछ । एमालेका हरेक तहले प्रशिक्षण र भेलाहरु आयोजन गर्ने र त्यसपछि परीक्षा लिएर उत्तीर्ण हुनेको रेकर्ड माथिल्लो तहमा पठाउने व्यवस्था हुनेछ ।”

पार्टीले लिएको परीक्षामा पास भएकाले मात्रै पार्टीभित्र र मुलुकमा हुने निर्वाचनमा टिकट पाउने उनले स्पष्ट पारे । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको दैनिकीसँग जोडिएका कामहरु गर्नुपर्ने भन्दै ओलीले त्यसले मात्र स्थानीय तहको समृद्धि आउने बताए । “वडा, नगर, जिल्ला र प्रदेशले सिफारिस गरेको भरमा टिकट दिने विगतको परिपाटीलाई बदल्दै अब काम र सक्रियताको मूल्यांकनले भरिएको फारम अनुसार हुनेछ,” ओलीले भने ।

प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका अध्यक्षहरु, बागमती प्रदेशमा एमालेबाट निर्वाचित नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतको सहभागिता रहेको प्रदेश कमिटीकी सहसचिव भक्तकुमारी लामाले जानकारी दिइन् । लामाका अनुसार बुधबार सुरु भएको प्रशिक्षण कार्यक्रम शुक्रबार समापन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर