बैतडीको झुलाघाट नाका बेलुकी ७ बजेसम्म खोल्ने सहमति

काठमाडौं । नेपाल–भारत सीमा समन्वय बैठकमा दुई देशबीचको बैतडीको झुलाघाट नाका बेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।

पिथौरागढमा सम्पन्न बैठकमा यसअघि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने सो नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । बैठकमा भारतमा हुने लोकसभा चुनावलाई दृष्टिगत गरेर सीमा क्षेत्रमा अपनाउनुपर्ने सतर्कताबारे पनि छलफल भएको छ ।

साथै दुवै देशका सीमा क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण, मानव तथा वन्यजन्तु तस्करीमा रोक, लागुऔषध ओसारपसारमा रोकलगायतका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

बैठकमा भारतीय पेन्सनरी नेपालीलाई सहजता गर्ने, सीमा क्षेत्र भएर बग्ने महकाली नदीको सरसफाइ, द्विपक्षीय सीमा क्षेत्रका विविध विषयमा छलफल भएको छ । बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी शर्मा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । यस्तै भारतकातर्फबाट पिथौरागढका जिल्ला अधिकारी रीना जोशी, चम्पावतका जिल्ला अधिकारी नवनीत पाण्डेलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर