रविमाथि छानबिन गर्न संसदीय समिति आवश्यक नभएको सत्तापक्षको एक स्वर, कांग्रेस आफ्नो मागमा अडिग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन हुन नसक्ने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानप्रति अध्यक्ष ओलीउक्त कुरा बताएका हुन् । संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले कांग्रेसले प्रतिशोधपूर्ण अभिव्यक्ति दिएको आक्षेप पनि लगाए ।

यसैगरी, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा माग्नु बेठीक भएको प्रतिक्रिया दिएको छ । आज संसद बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले कांग्रेसले सामान्य उजुरीमा नै संसदीय छानबिन माग गरेर गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गरे । उनले ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि कांग्रेसलाई चुनौती दिए । उनले चिटिक्क परेर अनियमितता गर्ने कांग्रेसले नैतिकता, सुशासनका कुरा गर्ने ? भन्दै प्रश्नसमेत गरे ।

उनले भने, ‘मैले केही भन्नै पर्दैन नि। कामले बोलिरहेको छैन र ? अस्ति नै पो प्रतिपक्षमा थिएँ, बोल्नुपर्ने थियो, भन्नुपर्ने थियो, अब त सरकारमा छौँ, प्रत्येक दिन गरिएको कामले आफैँ बोलेको छ, जस्तो लागेको थियो, तर साथीहरूको प्रश्न त सकिएको छैन जस्तो छ। संसदीय छानबिन समिति माग गरिएको छ, त्यो उहाँहरूले माग्ने कुरा हो। विवाद हुनु र गराइनु फरक छ। विवादबाट मुक्त कहिल्यै हुँदैन। हामी काम गर्न अघि बढेका छौँ। कामको सङ्केत देखिरहनुभएको छ। जुन ढङ्गले संसद् अवरोध भएको छ। एउटा पूरक, ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको छ भने नेपाली कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन श्र भन्ने कुरा नेपाली जनताले बुझेका छन्। हामीले कामले जवाफ दिने हो। कांग्रेसले चार वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले चार वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता, सुशासन गर्ने ?’।

यता, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भने गृहमन्त्रीका बारेमा प्रधानमन्त्रीको जवाफ झुटो भएको प्रतिक्रिया दिए । आज संसद भवन परिसरमा सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले संसदमा प्रधानमन्त्रीले गृहमन्त्रीका विषयमा बोलेको कुरामा सत्यता नभएको उल्लेख गरे । उनले आफूमाथि प्रश्न चिन्ह खडा भएपनि गृहमन्त्रीले नैतिकताका आधारमा नै राजीनामा दिनुपर्ने धारणा व्यक्त गरे । कोइरालाले छानबिन समितिको मागमा कांग्रेस अडिग रहेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर