डढेलो निभाउने क्रममा धादिङमा एकजनाको मृत्यु

काठमाडौं ।  जंगलमा लागेको डढेलो निभाउने क्रममा धादिङमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिणी धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका–२ ताल्ती निवासी ५२ वर्षीय खामबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

मृतक थापा मगर भालुखोप भन्ने स्थानको रातामाटे जंगलमा डढेलो सल्केपछि निभाउने क्रममा लडेर घाइते भएपछि स्थानीयले उद्धार गरेको र उपचारका क्रममा निजको मृत्यु भएको प्रहरीले बताएको छ । मृतक थापा डढेलो निभाउने क्रममा लड्दा करिब बीस मिटर तल खसेको प्रहरीको भनाइ छ । मृतक थापासहित सो क्षेत्रका स्थानीय गाउँमा डढेलो नपसोस् भन्नका लागि डढेलो निभाउने प्रयासमा थिए ।

गोठमा आगो लाग्दा १५ वटा बाख्रा तथा दुई दर्जनभन्दा बढी कुखुरा नष्ट

यसैगरी स्याङजाको चापाकोट नगरपालिका वडा नं ५ सिमस्थित सोमबहादुर आलेको गोठमा मंगलवार बिहान आगलागी हुँदा गोठ तथा कुखुरा फार्म पूर्णरुपमा जलेर नस्ट भएको छ । करिब बिहान ५ बजेको समयमा गोठमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीय र प्रहरीको प्रयासमा एक घन्टापछि आगो नियन्त्रणमा आएको स्थानीय गोपिकृष्ण रेग्मीले जानकारी दिए ।

बिहान गोठमा बस्तुभाउलाई कुँडो पकाउन आगो सल्काउँदा सुकेको पातमा सल्किएको आगोका कारण गोठ पूर्णरुपमा जलेको छ । आगोलागीका कारण खोरमा भएका १५ वटा बाख्रा तथा दुई दर्जनभन्दा बढी कुखुरासमेत जलेर नष्ट भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर