चीनद्वारा अरुणाचल प्रदेश आफ्नो भूभाग भएको फेरि दाबी

काठमाडौं । चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै फेरि दाबी गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र रहेको भन्दै भारतले यस क्षेत्रलाई अवैधरूपमा अरुणाचल प्रदेश स्थापित गरेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।

उनका अनुसार चीनले अरुणाचल प्रदेशलाई भारतको भूभाग भनी कहिल्यै मान्यता दिएको छैन । भारतले अरुणाचल प्रदेशमा सेला सुरुङ निर्माण गरेर आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरेपछि चीनको उक्त बयान आएको हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मानेर आफ्नो भूभाग भन्दै आएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरी सेला सुरुङ मार्गको उद्घाटन गरेका थिए । यसप्रति पनि चीनले आपत्ति जनाएको थियो । भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण यो सुरुङ मार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो । त्यति नै बेला भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको अरुणाचल प्रदेश भ्रमणमा चीनको आपत्तिउपर जवाफ दिएको थियो । मन्त्रालयले अरुणाचल प्रदेशमा भारतको विकास परियोजनामा चीनको विरोध औचित्यहीन रहेको बताएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर