वनमा आगो सल्किँदा तेह्रथुमका २३ घर जलेर नष्ट

काठमाडौं । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार अपराह्नदेखि सुरु भएको आगलागीमा परी पाँच वटा बस्तीका २३ घर जलेर नष्ट भएका छन् । आगलागीमा थप पाँच वटा गोठसमेत जलेका छन् । गाउँको पुछारमा वनमा अपरान्ह १ बजे अचानक सुरु भएको आगो वनसँगै जोडिएका बस्तीमा सल्किएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगलागीका कारण अहिलेसम्म २३ वटा घर र ५ वटा गोठ जलेको वडाध्यक्ष मनबहादुर श्रेष्ठले जानकारी दिए । आगलागीमा परी सिम्लेका रातमाटे, बाँझीगरा, टाहारी, अम्फुवा र मयन्तपागाउँ जलेका हुन् । बस्तीमा आगो लागिरहेको छ । बस्ती पातलो भएको र वरिपरि जंगल भएकाले आगो नियन्त्रण गर्न समस्या भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

आगलागीमा नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत करोडौंको धनसम्पत्ति नष्ट भएको पीडितको भनाइ छ । सुख्खाक्षेत्र भएकाले आगो निभाउन समस्या भएको स्थानीयको भनाइ छ । आगलागीबाट भएको जनधनको क्षति अझै यकिन नभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी राजन चापागाईले बताए । (तस्बिर: प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर