भारतमा आमनिर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने

काठमाडौं । भारतको निर्वाचन आयोगले आगामी आम निर्वाचन अप्रिल १९ (वैशाख ७) देखि सात चरणमा हुने भएको छ। भारतका मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जुन १ (वैशाख १९ गते) सम्म हुने निर्वाचनको कार्यतालिका घोषणा गरेका छन् ।

दक्षिण एशियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिब ९७ करोड मानिसले मतदान गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन्। पैसाको दुरुपयोग, गलत सूचना र आचारसंहिता उल्लङ्घन निर्वाचन आयोगका प्रमुख चुनौती रहेको उनले बताए । आगामी निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) बाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि उम्मेदवार बन्नेछन् । उनले मुख्य विपक्षी कांग्रेस पार्टीको नेतृत्वमा रहेको इन्डियन नेशनल डेभलपमेन्टल इन्क्लुसिभ एलायन्स (इण्डिया) नामक करिब दुई दर्जन विपक्षी दलको गठबन्धनबाट चुनौती सामना गर्नुपर्ने छ।

मोदीको भाजपाले आफ्नो लागि ३७० सिट र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) भनेर चिनिने गठबन्धनका लागि चार सय सिटको लक्ष्य राखेको छ। २०१९ मा भएको पछिल्लो चुनावमा, भाजपाले भारतीय संसदको ५४३ सदस्यीय तल्लो सदनमा ३०३ सिट जितेको थियो। सन् १९८० मा गठन भएयता त्यो पार्टीको अहिलेसम्मकै धेरै सिट हो। सन् १९४७ मा बेलायती शासनबाट देश स्वतन्त्र भए यता धेरै वर्ष सत्तामा रहेको भारतीय कांग्रेस पार्टी पुनरागमनका लागि कडा संघर्ष गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर