बौद्धिक अपांगतासम्बन्धी कार्य कठिन र जटिल भएको निष्कर्ष

भक्तपुर । एस. एम. अभिभावक संघको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बौद्धिक अपांगता, सुस्त मनःस्थितिसम्बन्धी बालबालिकाको हक हितका लागि काम गर्ने संघको उद्देश्य रहेको छ । संघले अन्य अपांगताभन्दा भिन्न बौद्धिक अपांगतासम्बन्धी अति कठिन र जटिल कार्य आएको छ । बौद्धिक अपांगता व्यक्तिहरूको स्याहार, सुसारमा अभिभावकहरूले आफ्नो जीवनको अमूल्य समय खर्चिनुपर्ने भएकाले बौद्धिक अपांगतामा तपस्या गरेझैँ लगनशीलताको खाँचो पर्दछ । यस्तै बौद्धिक अपांगता भएकाको लगनशील भएर स्याहार सुसार गरेकाले काञ्छी बिसंखुलाई शनिबार सम्मान गरिएको छ ।

मन्दिना जोशी स्मृति कोषका मधु जोशीले बिसंखुलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरिन् । कोषका संरक्षक केदारप्रसाद जोशीले काञ्छी बिसंखुको योगदानको प्रशंसा गरेका थिए । साधारणसभाका प्रमुख अतिथि सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्काले एस.एम संघसँग पहिलेदेखिनै आफ्नो वडा कार्यालयले सहयोगको क्षेत्रमा हातेमालो गर्दै आएको चर्चा गरे ।

सभामा संघका सचिव जमुना पौडेल, संघकै पूर्वअध्यक्ष लक्ष्मीप्रसाद पौडेल, मानव विकास केन्द्रका प्रिन्सिपल बाबुकृष्ण रञ्जित, संघका सल्लाहकार विद्यालक्ष्मी राजभण्डारी, उपकार बचत सहकारीका जयकृष्ण दुलाल र संघका संस्थापक अध्यक्ष केदारप्रसाद जोशीलगायतले संघले बौद्धिक अपांगताको क्षेत्रमा उपलब्धिमूलक फड्को मारेको चर्चा गरेका थिए । सभामा पूर्वशिक्षक नरेन्द्रप्रसाद जोशीले रक्तदानको महत्तामाथि प्रकाश पारिएको कविता वाचन गरेका थिए । सभाका वक्ताहरूले बौद्धिक अपांगतासम्बन्धी नीति निर्माण गर्दा राज्यले विशेष ध्यान पुर्‍याउनुपर्ने पक्षमाथि जोड दिएका थिए । संघका अध्यक्ष तथा कार्यक्रमका सभापतिको आशनबाट सपना वादेश्रेष्ठले संस्थालाई जीवन्त राख्न आ–आफ्नो क्षेत्रबाट सहयोग र समर्थन पुर्‍याएका महानुभावहरूप्रति कृतज्ञता व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर