इजरायली आक्रमणमा २० प्यालेस्टिनीको मृत्यु

काठमाडौं । गाजामा भएको गोलाबारीमा कम्तीमा २० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १ सय ५५ जना घाइते भएका छन् । इजरायली सेनाले गरेको हमलामा सो हताहती भएको अधिकारीहरुले बताएका छन् । अल शिफा अस्पतालको आकस्मिक एकाइका डाक्टर मोहम्मद घ्राबका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

गाजाको कुवेती घुम्तीमा मानवीय सहायताको पर्खाइमा रहेका नागरिकको भेलालाई इजरायली फौजले निशाना बनाएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । भौतिक सुरक्षा र त्रस्त मानसिकताका कारण उपचार सेवा पनि प्रभावकारी हुन नसकेको चिकित्सकहरुले बताएका छन् । आक्रमण इजरायली सेनाले गरेको गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले आरोप लगाएका छन् ।

यसैबीच, अमेरिकी सिनेटर चक सुमरले इजरायलमा नयाँ निर्वाचनको आह्वान गर्दै अतिवादी सरकार र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई शान्तिको बाधक भएको टिप्पणी गरेका छन् । इजरायली धरपकडका कारण रफाहका लाखौं शरणार्थीको जीवन असुरक्षित रहेको भन्दै इजरायली सरकारको नेतृत्व परिवर्तन गर्नुपर्ने उनको मत रहेको छ । अक्टोबर ७ यता गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ३१ हजार प्यालेस्टिनीको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर