जिप दुर्घटना अपडेट : आठ जनाको मृत्यु

काठमाडौं । उदयपुरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । को१ज २५९३ नम्बरको जिप धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गर्दै उदयपुरको बेलका–७ मैनामैनीमा आज बिहान १०ः३० बजेतिर दुर्घटनाग्रस्त भएको थियो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकका अनुसार मृतक सबैको सनाखत भएको छ । मृत्यु हुनेमा इटहरी–९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरका हतुवागढी गाउँपालिका–२ का ७० वर्षीया पर्वतमाया राई, सोही वडाका २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी–५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी–५ का ४२ वर्षीय किशन राईको सनाखत भएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए । किशन राईको उपचारका क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट सातजना र हसनपुरबाट पाँचजना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर