ललितपुरमा इतिल्हन सम्यक् महादान पर्व सुरु
काठमाडौं । ललितपुरमा प्रत्येक पाँच बर्षमा मनाइने ऐतिहासिक एवं धार्मिक महत्वपूर्ण बोकेको यल इतिल्हन सम्यक् महादान पर्व सुरु भएको छ ।
चापागाँउ, बुङ्गमती, कीर्तिपुर, काठमाण्डौ, ललितपुर र भक्तपुरमा रहेको बहा, बही र महाबिहारबाट विशाल दीपंकर बुद्ध, आर्यतारालगायत १ सय २५ वटा सम्यक् देवदेवीलाई अधिल्लो रात मंगलबजारमा भेला गराई बाजागाजाकासाथ ललितपुरको नागःबहाल पुर्याएपछि यो पर्व सुरु हुने गर्दछ । दीपंकर पर्वका रुपमा समेत परिचित यस पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्न राजा भाष्करदेवका सन्तति भलिभारोलाई त्रिरत्नको आशीषबाट प्राप्त धनवृद्धिप्रति कृतज्ञ हुँदै श्रद्धापूर्वक दान दिने उद्देश्यले विभिन्न विहारका दीपंकर र आर्यतारालगायत अन्य देवीदेवता, श्रावणेर ब्रम्हचर्य भिक्षु, शाक्य भिक्षु तथा बज्राचार्य गुरुहरुलाई आमन्त्रण गरी सम्यक् महादान दिई यो पर्वको थालनी गरेको आयोजकको भनाइ छ ।
विक्रम संवत् १८६१ सालसम्म प्रत्येक वर्ष मनाउँदै आएको यो पर्व त्यसबेलाका राजा रणबहादुर शाहले सम्यक् गुठीको जग्गा अधिकरण गरेपछि आयस्ताको कमीले प्रत्येक चार वर्षसम्म आयस्ता जम्मा गरी पाँचौ वर्षमा यो पर्व मनाउने गरेको संस्कृतिविद् लोकरत्न शाक्यले बताए । दान पारमिताको अभ्यासका रुपमा लिइने सम्यक् महादान पर्वमा कसैलाई चित्त नदुखाई हर्षकासाथ आफूले कमाएको धन सम्पतिलाई शुद्ध मनले निःस्वार्थ भई दान दिन काठमाडौं, ललितपुर र भक्तपुरका साथै अन्य जिल्लाहरुबाट समेत भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । आज दिनभर भक्तजनहरुलाई दर्शन गराएर साँझपख सबै देवी देवताहरुको मूर्तिलाई आ–आफ्नो बासस्थान फर्काएपछि पर्वको समापन हुन्छ ।