अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

काठमाडौं । अमेरिकी तल्लो संसद हाउस अफ रिप्रेजेन्टेटिभ्सले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । विधेयकमा टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सले ६ महिनाभित्र बहुमत शेयर अमेरिकी कम्पनीलाई दिनुपर्नेछ, नत्र अमेरिकाभर सधैँका लागि बन्द हुने उल्लेख छ ।

तल्लो सदनबाट दुई तिहाई बहुमतले यो विधेयक पारित भए पनि यसलाई माथिल्लो सदन सिनेटले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागू हुनेछ । तर पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने विषयमा बोली फेरेपछि सिनेटबाट यो पारित हुने–नहुनेमा शङ्का छ । यसअघि ट्रम्प नै राष्ट्रपति हुँदा अमेरिकामा टिकटक प्रतिबन्धमा परेको थियो, तर अदालतको आदेशका कारण यो निर्णय पूर्ण कार्यान्वयन हुन पाएको थिएन । तर अहिले भने ट्रम्पले आफ्नै निर्णयविपरीत टिकटक प्रतिबन्धको विरोध गरेका छन् ।

टिकटकले राष्ट्रिय सुरक्षा नै खतरामा पार्न सक्ने अमेरिकी सुरक्षा निकायको ठहर छ । तर टिकटकले भने १५ करोड जना अमेरिकी प्रयोगकर्ताको कुनै पनि डेटा चीन सरकारको पहुँच भन्दा टाढा रहेको भन्दै आरोपको खण्डन गर्दै आएको छ । यस्तै, चीनले टिकटक प्रतिबन्ध लगाउने अमेरिकाको कदमले उसैलाई समस्यामा पार्ने चेतावनी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर