एक महिनाअघि ल्होसार सकियो आज बिदा किन ? : शेर्पा समुदाय
काठमाडौं । शेर्पा समुदायका संस्थाहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिले तयार परेको पात्रोमा चाडपर्वको तिथि मितिमा गडबड भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शेर्पा जातीय संस्थाहरूले ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलमार्फत ध्यानाकर्षण पत्र बुझाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको पात्रोमा शेर्पा समुदायको मौलिक चाड ग्याल्पो ल्होसारको मिति गडबड गरिएको संस्थाहरूले उल्लेख गरेका छन् । ग्याल्पो ल्होसार गत माघ २७ गते नै भएको, तर पात्रोअनुसार फागुन २८ गतेका दिन ल्होसारको बिदा दिएर गडबड गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा शेर्पाहरूको महान् चाड २१५१ औँ ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमा नै परेको भए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फागुन २८ गते ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी बौद्ध मार्गीहरूको चाडपर्वको तिथि नै भ्रममा पारिएको उल्लेख गरिएको छ ।
महायानी बौद्ध मार्गीहरूको सम्पूर्ण चाडपर्व भोट चन्द्र पात्रो (दाथो) मा आधारमा हुने भएकाले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मितिअनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता सङ्गठन नेपाल बौद्ध महासङ्घको प्रतिनिधिलाई सहभागी गराई निर्णय गर्न संस्थाहरूले अनुरोध गरेका छन् । ज्ञापनपत्र बुझाउनेमा नेपाल शेर्पा, शेर्पा सञ्चार समूह, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल शेर्पा विद्यार्थी सङ्घ रहेका छन् । शेर्पाजन्य चार वटै संस्थाले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको नेपाल शेर्पा सङ्घका जिल्ला सचिव फुर्वा शेर्पाले जानकारी दिए ।