पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

काठमाडौं । पाकिस्तानको राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गरेका छन् । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका हुन् । जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गरे । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रबार बिदाइ भएका थिए ।

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति हुनुभएको थियो । जरदारी राष्ट्रपतिमा पदमा दोस्रो पटक निर्वाचित भएका हुन् । गत फेब्रुअरीमा भएको आम चुनावमा उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिमा विजयी भएसँगै उनले राष्ट्रियसभाबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर