माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्दै भारत

काठमाडौं । भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने जनाएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोकेका छन् ।

भारतले माल्दिभ्सलाई वर्षौंअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा सानो विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गर्दैआएको बताएको छ। अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने सहमति भएको छ । माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिने भएकाले भारतले माल्दिभ्समा लामो समयदेखि प्रभाव राख्दै आएको छ । दुई देशबीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्ला केही महिनायता सम्बन्ध बिग्रिएको हो ।

यही हप्ता माल्दिभ्स सरकारले चीनसँग सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेको छ । यसले पाँच लाखभन्दा केही बढी मात्रै जनसङ्ख्या भएको माल्दिभ्समा एसियाली शक्तिराष्ट्रहरूको प्रतिस्पर्धामा फस्ने जोखिम बढेको विश्लेषकहरुले बताएको बीबीसीले जनाएको छ ।

चीनले भने माल्दिभ्समा आफ्नो कुनै पनि दीर्घकालीन सैन्य स्वार्थ र योजना नरहेको दाबी गर्दै आएको छ । अत्यावश्यक खाद्यवस्तु,औषधि र निर्माण सामग्री आयातका लागि माल्दिभ्स भारतमा निर्भर छ । माल्दिभ्समा सबैभन्दा धेरै पर्यटक भारतबाट नै जाने गरेका थिए । तर दुई देशबीचको सम्बन्ध बिग्रिएसँगै भारतीय पर्यटकको सङ्ख्या घटेको छ । पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार यो वर्षको पहिलो दुई महिनामा माल्दिभ्स भ्रमण गरेका झण्डै चार लाख पर्यटकमध्ये १३ प्रतिशत चिनियाँ रहेका छन् । भारत भने पाँचौँ स्थानमा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर