गठबन्धनबाहिर रहेका दलहरुलाई सरकारमा सहभागी हुन एमालेको आग्रह

काठमाडौं । नयाँ गठबन्धनको प्रमुख घटक नेकपा एमालेले गठबन्धनबाहिर रहेका दलहरुलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

पार्टी मुख्यालय च्यासलमा आज शुक्रबार बसेको सचिवालय बैठकले नयाँ गठबन्धनले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित, विकास र समृद्धि सहयोग पुर्‍याउने निष्कर्ष निकाल्दै गठबन्धनबाहिर रहेका दलहरुलाई पनि सरकारमा आउन आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्याउन एमाले योगदान गर्नुपर्दछ भन्ने निष्कर्ष निकालेका छौँ । पाँच राजनीतिक दल मिलेर नयाँ सरकार बनाउने प्रक्रिया सुरु भएको छ । यसमा अन्य दललाई पनि साथ समर्थनका लागि सचिवालय बैठकले आह्वान गरेको छ ।’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्चा बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने सन्दर्भमा नयाँ सहकार्य फलदायी बनाउनुपर्ने पार्टीको मान्यता रहेको बताए । यस्तै बैठकले पार्टी स्थापनाको ७५ औँ वर्षगाँठको दिन वैशाख १० गते विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ । वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद् बैठक आयोजना गर्ने र १० गते विशेष कार्यक्रम गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर