नाइजेरिया दुई सय ८० भन्दा बढी विद्यार्थी अपहृत

काठमाडौं । उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी बन्दुकधारीहरूले दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् । अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा फिरौतीका लागि अपहरण सामान्य हो । यहाँ आपराधिक गिरोहहरूले विगतमा विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना बनाएका छन् । यद्यपि हालै यस्तो आक्रमण कम भएको छ ।

कदुना राज्यमा स्थानीय अधिकारीहरूले बिहीबार कुरिगा विद्यालयमा अपहरणको आक्रमण भएको पुष्टि गरेका छन् तर कति विद्यार्थीलाई अपहरण गरिएको हो भन्नेबारे अझै पत्ता लगाउने काम भइरहेकाले अपहृतको यकिन सङ्ख्या दिएका छैनन् । चिकुन् जिल्लाको जिएसएस कुरिगा विद्यालयका शिक्षकमध्ये एक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले हावामा गोली चलाइरहेका बेला विद्यार्थीसहित कर्मचारीहरू भाग्न सफल भएको बताए ।

“फेरि पनि हामीले अपहृतहरूको वास्तविक सङ्ख्या निर्धारण गर्न काम सुरु गरेका छौँ”, विद्यालय भ्रमण गर्ने अधिकारीहरूलाई उनले भने, “जिएसएस कुरिगामा एक सय ८७ विद्यार्थी बेपत्ता छन् भने प्राथमिक विद्यालयमा एक सय २५ विद्यार्थी बेपत्ता भए पनि २५ फर्केर आएका छन् ।” “दुई सय ८० भन्दा धेरै विद्यार्थी अपहरण भएका छन्, हामीले सुरुमा दुई सय अपहरणमा परेको सोचेका थियौँ तर सावधानीपूर्वक गरिएको गणनापछि अपहृत विद्यार्थीको सङ्ख्या दुई सय ८० भन्दा केही धेरै छ”, स्थानीय बासिन्दा मुहम्मद एडमले भने । स्थानीय अधिकारी र प्रहरीले अपहृतको सङ्ख्याबारे कुनै आँकडा दिएनन् । प्राय हमलाबाट भागेका मानिसहरू घर फर्केपछि नाइजेरियामा अपहृत वा बेपत्ता मानिसको आँकडा कम गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर