आज महाशिवरात्रि : पशुपतिलगायत शिवालयमा भक्तजनको घुइँचो
काठमाडौं । महाशिवरात्रि पर्वको अवससरमा आज पशुपति क्षेत्रसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा–आराधना गगरिन्छ ।
पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरूको भीड लागेको छ । पशुपतिपरिसर एवं बागमती किनारमा गएरातिदेखि नै दर्शनार्थी एवं भक्तजनको भीड लागेको थियो ।
पशुपतिना मन्दिरका चार ढोका बिहान २ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शिवरात्रिका दिन पशुपतिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आउने गरेका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपतिको दर्शन गर्ने कोषको अनुमान छ ।
पर्वलाई लक्षित गरी कोषले पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड, रक्सी तथा मासु पूर्णरूपमा निषेध गरेको छ । आज पशुपति क्षेत्रका लागि प्रहरीले विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ भने पर्वकै लागि पशुपति क्षेत्र विकास कोषले करिब ६ सय जना स्वयंसेवक परिचालन गरेको छ ।