महाशिवरात्रि पर्व–८० भव्यरुपमा मनाउने तयारी
काठमाडौं । महाशिवरात्रि पर्व–८० भव्यरुपमा मनाउने तयारी भएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न तयारी समिति तथा उपसमिति गठन गरी काम गरेको छ ।
महाशिवरात्रिका लागि आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साधुसन्तहरू आउने क्रम सुरु भएको छ । नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधुसन्त आउन थालेका विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिनाथमा तीन हजारभन्दा बढी साधुसन्त आउने अनुमान गरिएको छ ।
उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्याउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रबन्ध मिलाउँदै गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमितिले भक्तजनका लागि निःशुल्क भोजनको जिम्मा लिइएको छ । यसैगरी महाशिवरात्रिको समयमा पशुपति क्षेत्रमा निःशुल्क भोजन गराउनेहरूले फोहर व्यवस्थापनसहितका सामग्री ल्याउनुपर्ने भनिएको छ ।
यस वर्षको महाशिवरात्रि यही फागुन २५ गते शुक्रबार परेको छ । अहिले पशुपति क्षेत्रमा रङरोगन, सरसफाइ तथा स्वागतद्वार निर्माणकार्य सुरु गरिएको छ । यसैगरी पशुपतिको मूल गेटसहितका अन्य स्वागतद्वारहरूलाई सजावट गरिएको छ भने बिहीबारदेखि पशुपतिनाथको भित्रपट्टि रहेका तीन गेट तथा बाहिर निर्माण गरिएका पाँचवटा गेटलाई फूलले सजाउ भएको छ । यस वर्ष पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनको स्वागतका लागि पिङ्गलास्थान, गौशला, जयबागेश्वरी, उमाकुण्ड तथा तिलगङ्गा क्षेत्रमा स्वागतद्वार निर्माण गरिन थालिएको कोषले जनाएको छ ।
महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोष परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सुरक्षाका जनशक्ति परिचालन गरी व्यवस्थित गर्ने तयारी गरेको कोषले जनाएको छ ।