बालकुमारी–कलमसी–कल्पेश्वर महादेव शिव पार्वती रथयात्राको आयोजना गरिने

भक्तपुर । चाँगुनारायण नगरपालिका—८ सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेव मन्दिरसम्म १५ औँ वृहत् शिव पार्वती रथयात्राको आयोजना गरिने भएको छ । मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले आज सोमबार रफत सञ्चार क्लब भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा शिव तान्त्रिक गुरु बुद्धिकुमार खड्गीले यही फागुन २३ गते विजया एकादशीको पावन दिनमा १५ औँ पटक वृहत् शिव पार्वती रथयात्रा आयोजना गर्न लागेको जानकारी दिए ।

प्रतिष्ठानले हरेक वर्ष झैँ यसवर्ष पनि ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वर धामसम्म वृहत् शिव पार्वती रथयात्रा आयोजना गर्न लागेको र रथयात्रामा हजारौँ भक्तजनको सहभागी हुने उनले बताए । फागुन २३ गते बिहान ८ः३० बजे बालकुमारीबाट सुरु भई १२ः३० बजे कलमसीमा रथयात्रा समापन गर्दै वहत् धार्मिक अनुष्ठान एवं पूजनविधि गरिने उनले बताए । रथयात्राका दिन सहभागी भक्तजनले तिल एक मुठी दान गर्न सक्ने बताउँदै उनले कल्पेश्वर महादेव मन्दिरमा त्यसदिन चारवटा होमयज्ञादी गरिने र पानीले भरिएको कुण्डमा पनि तिल अर्पण गरिने भएको छ । धार्मिक पर्यटनको विकास गर्ने, हिन्दु धर्मको रक्षा गर्ने र मानव मात्रको कल्याण् र दिवंगत आत्माको मोक्षका साथै चिरशान्तिको कामना गर्दै जिउँदाहरुलाई सत्यताको अनुभुत गराउन रथयात्राका दिन तिल चढाइने परम्परा रहेको छ ।
समग्र मानव कल्याण र उद्धारका लागि रथयात्रा आयोजनाको मुख्य उद्देश्य रहेको शिव तान्त्रिक गुरु खड्गीको भनाइ रह्यो ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका महासचिव इन्द्रप्रसाद श्रेष्ठले रथयात्राको सम्पूर्ण तयारी पूरा भएको बताउँदै प्रतिष्ठानले र स्थानीयस्तरमा मूल आयोजक समिति तथा विभिन्न उप–समितिहरू गठन गरेर रथयात्रालाई शोभायमान बनाउन लागेको बताए । प्रतिष्ठानले सुडालको कलमसीमा १०८ रोपनी क्षेत्रफलमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित मन्दिर निर्माण सुरु गरेको छ । त्यस क्षेत्रमा शिवको मूर्तिलगायत कालीनाग, गौतम बुद्ध, मायावती, बुद्धका सात पाइला, श्री १०८ आबाल व्रम्हचारी बालागुरु षडानन्दको मूर्ति स्थापनाका कामहरु भइरहेको महासचिव श्रेष्ठले जानकारी दिए । कूल ६० करोडको खर्चमा सम्पूर्ण संरचना निर्माण सम्पन्न गर्दै विशाल धार्मिक क्षेत्र निर्माण गर्ने गुरुयोजनाअनुरूप अहिलेसम्म ८ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको उनले बताए । प्रतिष्ठानले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक क्षेत्रको संरक्षण र प्रवर्धनका लागि विगत १५ वर्षदेखि क्रियाशील हुँदै आएको बताउँदै महासचिव श्रेष्ठले प्रतिष्ठानले भक्तजनहरूलाई १०८ शिवलिङ्ग दान गर्नलाई शिव मूर्ति निर्माण हुने स्थलमा संकल्प पूजा समेतसम्पन्न गरिसकेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर