पुरानो गठबन्धन भंग, नयाँमा माओवादी, एमाले, रास्वपा, जसपा र नाउम पार्टी सम्मिलित

काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस, जसपा, लोसपा, जनमत, नाउम पार्टी सम्मिलित पुरानो सत्ता गठबन्धन भंग भएको छ । हिजो आइतबार साँझ र राति तथा आज सोमबार बिहान भएको नवीन राजनीतिक विकासक्रममा पुरानो सत्ता गठबन्धन भत्किएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेको छ ।
नयाँ गठबन्धनमा रास्वपा,  जसपा, नाउम र एमाले सरकारमा सामेल हुने भएको छ । सोमबार अपराह्न गठन हुने मन्त्रीपरिषदमा रास्वपाका सभापति एवं सांसद रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रालय र माओवादीका वर्षमान पुनलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकी प्राथमिक चरणमा चार सदस्यीय मन्त्री परिषद बनाउने तयारीमा प्रधानमन्त्री प्रचण्ड छन् । आजै नेपाली कांग्रेसका तर्फबाट मन्त्री भएका १० जनालाई प्रधानमन्त्रीले वर्खास्त गर्ने वा ती मन्त्रीहरूको राजीनामा स्वीकृत गर्ने भन्ने विषयमा राजनीतिक वृत्तमा छलफल चलिरहेको छ ।
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो । सत्ता गठबन्धनमा परिवर्तन आएसँगै अब सातै प्रदेशमा एमाले–माओवादीको सरकार बन्ने भएको छ । कांग्रेस–माओवादीको गठबन्धन टुटेसँगै संघ हुँदै प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुन लागेको हो । अहिले कांग्रेसको नेतृत्वमा गण्डकी, लुम्बिनी कोशी र सुदूरपश्चिम प्रदेश सरकार रहेको छ । नयाँ सत्ता गठबन्धनमा एमालेले ३, माओवादीले २ र बाँकी २ प्रदेश गठबन्धनका अन्य दलले नेतृत्व गर्ने गरी सहमति जुटेको छ । कांग्रेससँगै नेकपा एस पनि सत्ताबाट बाहिरिने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर