यी सुन्दरी अप्सरा जसका कारण मनुष्यको इतिहास बदलियो

काठमाडौं ।  हिन्दु वैदिक र पुराणमा उल्लेख गरिएको छ कि अप्सरा सुन्दर र जादूमय शक्तिले सम्पन्न भएको हुन्छ । अप्सराहरू गन्धर्व लोकमा बास गर्छिन् । र, यिनीहरूले नृत्य र संगीतको माध्यमबाट देवलोकलाई मनोरञ्जन दिन्थे । देवराज इन्द्रले आफ्नो सिंहासनको रक्षाका लागि सन्त, तपस्वीहरूको ध्यान भंग गर्न अप्सराहरूको धेरैजसो प्रयोग गरेको घटनाक्रमहरू पुराणहरूमा उल्लेख छ । यीनै अप्सराहरूको प्रयोगबाट पृथ्वीमा वंश चलेको उदाहरणहरू पनि पाइन्छ । यीनै शक्तिशाली ६ जना अप्सरा जसकारण स्वर्ग र पृथ्वीको इतिहास प्रभावित भएको छ । आज यीनै ६ जना प्रमुख अप्सराको सम्बन्धमा वर्णन गरौं जसले मनुष्य जातिको इतिहास बदल्न सफल भएकी थिइन् ।

१) रम्भा : स्वर्गको सबभन्दा सुन्दरी अप्सरा । हिन्दु धर्म ग्रन्थअनुसार प्रमुख ११ अप्सरामध्ये रम्भा सबैभन्दा सुन्दरी छन् । रम्भा आफ्नो रूप र सुन्दरताका कारण स्वर्ग, मर्त्य र पाताल लोकमा प्रसिद्ध छन् । रुप र सौन्दर्यका कारण रम्भालाई जो कोही पनि हासिल गर्न चाहन्छन् । रामायणकालमा यक्षराजका पुत्र नलकुबेरका पत्नीको रूपमा रम्भाको उल्लेख गरिएको छ । एक पटक लंकापति रावणले रम्भाको बलात्कार गर्ने प्रयास गरेका थिए । जसका कारण रावणलाई रम्भाले श्राप दिएकी थिइन् कि जो स्त्रीले तिमीलाई चाहँदैन ती स्त्रीलाई तिमीले स्पर्श मात्र गरेपनि तिम्रो मृत्यु हुनेछ । त्यहीँ डरका कारण माता सीतालाई रावणले हातसम्म लगाएको थिएन । तर अन्त्यमा गएर रावणको अन्तकाल पनि स्त्रीकै कारण हुनपुग्यो । महाभारतमा रम्भालाई तुरुम्ब नामका गन्धर्वकी पत्नीको रूपमा वर्णन गरिएको छ । स्वर्गमा अर्जुनको स्वागतका लागि रम्भा नै उपस्थित थिइन् । त्यसबेला अर्की अप्सरा उर्वशी पनि थिइन् । जो अर्जुनसँग मोहित भएकी थिइन् । एकपटक विश्वामित्र ऋषिको घोर तपस्याबाट विचलित भएर उनको तपस्या भंग गर्न इन्द्रले रम्भाको प्रयोग गरेका थिए । तर तपस्वी विश्वामित्रले इन्द्रको कुत्सित चाल बुझेर रम्भालाई हजार वर्षसम्म शिला भएर बस्न श्राप दिए । तर प्रश्न के उब्जिन्छ भने षडयन्त्र त इन्द्रले रचेको हो तर सजाय रम्भाले किन भोग्न पर्‍यो । बाल्मिकी रामायणको एक कथा अनुसार रम्भा एक ब्राह्मणका कारण उक्त श्रापबाट मुक्त भएकी थिइन् । स्कन्द पुराणका अनुसार रम्भाको उद्धारक श्वेतमुनि भएको बताइन्छ । जसले छोडेको वाणले लागेर शिला रूपमा एक तीर्थमा खसेको थियो । त्यसपछि उनी श्रापबाट मुक्त भएकी थिइन् ।

२) उर्वशी : स्वर्गकी दोस्रो सबैभन्दा सुन्दरी अप्सरा उर्वशीलाई मानिन्छ । एकपटक स्वर्गमा नृत्य गर्दै गरेको समयमा राजा पुउर्वा उनीप्रति आकृष्ट भए । दुबै एकअर्काप्रति आकर्षित भएकाले उर्वशीको नृत्यको चाल लड्खडाएको थियो । देवराज इन्द्रले दुबैजनालाई मर्त्य लोकमा जन्मिन परोस् भनेर श्राप दिएका थिए । पछि मत्यृलोकमा यीनै जोडीबाट नहुस नामक पुत्रको जन्म भएको र नहुसबाट नै ययाति संयाति नामक पुत्र जन्मेको थियो । आआति र ध्रुव प्रमुख पुत्र थिए । यीनै प्रमुख पुत्रहरूबाट ययातिको पुत्रबाट यदु वंश र आआतिको पुत्रबाट त्रिभुस, द्रुहु, अणु र पुरु भए । यदुबाट यादव, पुरुबाट कौरव भए । पुरुको वंशमा नै कौरव भए । भीष्म पितामह कौरव वंशमा थिए । यही उर्वशी इन्द्रको समा एकपटक अर्जुनलाई देखेर आकर्षित भएकी थिइन् । उर्वशीले अर्जुनसँग प्रणय गर्न इन्द्रसँग निवेदन गरेकी थिइन् । तर अर्जुनले भने, हे देवी हाम्रा पूर्वजले तपाइँसँग विवाह गरेर हाम्रो वंशको गौरव बढाएको थियो । म कुरु वंशी भएकाले तपाइँ मेरी आमातुल्य हुनुहुन्छ । अर्जुनको यस्तो कुरा सुनेर उर्वशीले अर्जुनलाई भनिन्, तिमीले नपुंशकको जस्तो व्यवहार देखायौ । अतः तिमी एक वर्षसम्म नपुंशकको जस्तो स्वरूप लिएर बस्न परोस् भन्ने श्राप दिइन् । जुन श्रापको मोचन अर्नुनले महाभारतकालमा अज्ञात वासमा कटाएका थिए ।

३) मेनका :  तेस्री सबैभन्दा सुन्दरी अप्सरा मेनका । मेनकाले आफ्नो मादक रूप र सुन्दरताले विश्वामित्रको तपस्या भंग गरिन् । अन्ततः मेनकार विश्वामित्रबाट एउटी सुन्दर कन्या जन्मियो । जसको नाम शकुन्तला राखियो । शकुन्तलाको विवाह दुष्यन्त राजासँग भएको थियो । यिनकै गर्भबाट राजा भरतको जन्म भयो र उनकै नामबाट भारत रहन गयो ।

४) पुंजिकस्थला : एकातिर रम्भा र उर्वशीले पुउर्वाको वशंलाई अगाडि बढाएको थियो भने अर्कोतिर पुंजिकस्थला अप्सराले वानर वंश अगाडि बढाएको पाइन्छ । माता अञ्जनीबाट हनुमानको जन्म भएको हो । अञ्जनी इन्द्रको दरवारमा पुंजिकस्थला अप्सराको रूपमा थिइन् । पुंजिकस्थलाले तपस्या गरिरहेका एक तपस्वीलाई अभद्र व्यवहार गरेकी थिइन् । त्यही तपस्वीले तिमी वानर जस्तो स्वभाव भएकाले तिम्रो जन्म वानर कुलमा हुनेछ भनी श्राप दिएका कारण अञ्जली स्त्रीको रूपमा जन्मिन पुगेकी हुन् । दुःखित भएर पुंजिकस्थलाले ती तपस्वीलाई अनुनय, विनय गरेपछि तपस्वी खुशी भई भने, तिम्रो रूप र सुन्दरता पछिसम्म कायम रहने छ र तिमीले यस्तो एउटा पुत्रलाई जन्माउने छिन् जो अष्ट चिरञ्जीवीमध्ये एक हुनेछ । जसका कारण तिम्रो नाम युगौंयुगौंसम्म स्मरणमा रहिरहनेछ ।

५) तिलोत्तमा : पाँचौ सुन्दरी अप्सरा तिलोत्तमा स्वर्गकी परम सुन्दरी थिइन् । हिरण्यकश्यपुको वंशमा एक निकुम्भ नामका एक असुर उत्पन्न भएको थियो । उसको दुई पुत्र सुन्ध र उपसुन्ध थियो । यी पराक्रमी असुर दुई भाइबीच लडाउन तिलोत्तमाको उत्पत्ति गरिएको हो ।

६) घृताची : घृताची पनि एक प्रसिद्ध अप्सरा थिइन् । यीनले भारद्वाज ऋषिको तपस्या भंग गरेकी थिइन् । एक दिन भारद्वाज स्नान गरेर फर्कंदै गर्दा घृताचीको कामुक स्तन र हृष्टपुष्ट शरीर देखेर लोभिएका थिए । मुनि भारद्वाज घृताचीको यौन आर्कषणबाट मोहित भएर उनको वार्य स्खलन भयो । त्यही स्खलित वीर्यलाई घृताचीले एउटा द्रोणी अर्थात् माटोको भाँडोमा राखेर घारण गरेर द्रोणाचार्यलाई जन्म दिइन् । द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र हुन् । पौराणिक कथानुसार घृताची कश्यप ऋषि र प्रथाकी पुत्री थिइन् । घृताचीले तात्कालीन समयमा कयौं वीर पुरुषसँग समागम गरेकी थिइन् । भनिन्छ, घृताचीबाट नै विश्वकर्माले एक पुत्रलाई जन्म दिएको थियो । घृताचीबाट शुकदेव मुनि, रुरुलगायत धेरै तपस्वीहरूको जन्म भएको कथामा वर्णन पाइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर