आयोगद्वारा उप-निर्वाचनको कार्यक्रम स्वीकृत

काठमाडौं ।  निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार आगामी चैत २४ गते बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने छ भने सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

आयोगद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ। चैत २६ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी ६ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

चैत २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने कार्यतालिका छ । त्यस्तै, दिउँसो १ देखि ३ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन कार्यक्रमअनुसार वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्द सूचीबाट नाम हटेको अवस्थामा बाहेक उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको आयोगले प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर