वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार २६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरीसमेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपैयाँ हुने भनी पीडितहरूबाट पटक(पटक गरी ११ लाख ६६ हजार रकम लिई सम्पर्कविहीन बनेका थिए ।

स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नं. ८ भई हाल काठमाडौं बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, क्रोएसिया पठाउने भनी आठ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन् ।

प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका – १० भई हाल काठमाडौं सामाखुसी बस्ने पन्तले समीर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए । यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपैयाँ लिई सम्पर्क विहीन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन् ।

प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका – ११ भई हाल काठमाडौं गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए ।
निजहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर