नामिबियामाथि नेदरल्यान्ड्सको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नामिबियामाथि नेदरल्यान्ड्सले शानदार जित निकालेको छ । नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार नेदरल्यान्ड्सले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको नामिबियाले ७ विकेटको क्षतिमा १८८ रन जोड्यो। नामिबियाका लागि जान फ्राइलिंकले २७ बलमा ४२ रन र जान ग्रिनले २० बलमा नटआउट ४२ रन बनाए। यद्यपि, लगातार विकेट जाँदा नामिबिया जित नजिक भने पुग्न सकेन।
दुवै इनिङ्ग्समा गरी कुल ४३५ रन बनेको खेलमा कुल ३० छक्का प्रहार भएका थिए। जसमा नेदरल्यान्ड्सले १८ छक्का हिर्काएको थियो। यस्तै खेलमा ३३ चौका समेत प्रहार भयो। जसमा नेदरल्यान्ड्सले मात्र २० चौका प्रहार गरेको थियो। खेलमा चौका र छक्काबाट मात्र कुल ३१२ रन बन्यो। टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ५ विकेटको क्षतिमा २४७ रन जोडेको थियो ।