रिगलपीडित भारती शेर्पा मानन्धरद्वारा छोरा भेट्न नपाएको झोंकमा विष सेवन

काठमाडौ ।  रिगल भनिने योगप्रसाद ढकालद्वारा हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा मानन्धरले बाँकेमा विष सेवन गरेकी छिन् ।  अस्पतालमा छोरालाई भेट्न नपाएको झोँकमा उनले मंगलबार साँझ विष सेवन गरेको बाँकेका प्रहरी प्रमुख सुवास बोहोराले जानकारी दिए ।
‘स्कुलमा गार्जियनको नाम अरू नै केही लेखिएको रहेछ,’ बोहोराले भने, ‘यसबारेमा कुरा गर्न खोज्दा स्कुलले छोरालाई भेट्न दिएनछ । त्यसपछि विष सेवन गरेको भन्ने कुरा आयो । उहाँको अवस्था सामान्य छ ।’ उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।

सर्वोच्चले मानन्धरको हत्यारा योगराज ढकालको कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको थियो ।
गत कात्तिक १६ गते न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै उनलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ । सो लगत्तै ढकाल पक्राउ परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर