नेपाली युवालाई विदेशी सेनामा भर्ती नहुन प्रधान सेनापति शर्माको आग्रह

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली युवालाई विदेशी सेनामा भर्ती नहुन आग्रह गरेका छन् । नवलपुर जिल्लाको हात्तीखोलमा रहेको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८ औँ ब्याच सिनियर डिभिजन एनसिसी तालिमको दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधान सेनापति शर्माले युक्रेनसँगको लडाइँका कारण रुसी सेनामा भर्ती भएका नेपालीको अवस्था कस्तो छ भन्ने सबैले बुझेकाले कुनै पनि हालतमा विदेशी सेनामा भर्ती नहुन एनसिसी तालिमका सहभागीलाई आग्रह गरे ।
“देशमा केही हुन्न र हुन सक्दैन भन्ने गलत भाष्य निर्माण गर्दै विभिन्न देशमा जोखिमपूर्ण कार्य गर्न जाने अग्रसरता कम्तीमा पनि तपाईंहरूबाट प्रदर्शित हुने छैन भन्ने विश्वास लिएको छु,” प्रधान सेनापति शर्माले भने, “मैले इङ्गित गर्न खोजेको विदेशी सेनामा कुनै पनि हालतमा नजानु होला, मेरो विशेष आग्रह छ ।”

उनले हरेक कुरामा सकारात्मक सोचेर आफ्नो लक्ष्य प्राप्तिका लागि कर्म गर्न पनि आग्रह गरे । उनले तालिममा देखाएको लगनशीलता, इच्छाशक्ति, अनुशासन र कडा परिश्रमलाई देश निर्माणका लागि प्रयोग गर्न अपिल गरे । राष्ट्र र जनताप्रति वफादार, जिम्मेवार र समर्पित भई संस्कारयुक्त असल नागरिकका  रूपमा आफूलाई रूपान्तरण गर्न पनि प्रधान सेनापति शर्माको आग्रह छ ।

एक सय दिनमा सिकेको सैनिक कलालाई विपत् व्यवस्थापन, जोखिम न्यूनीकरणका विभिन्न उपायमा प्रयोग गर्दै राष्ट्रियता, सामाजिक उत्तरदायित्व वहन गर्दै भविष्यमा आउन सक्ने जस्तोसुकै जटिलतालाई समाधान गर्न फलदायी हुने उनले विश्वास व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर