नेपालले नेदरल्याण्ड्सलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं ।  आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको समान्य लक्ष्य दिएको छ । टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन मात्रे जोड्न सक्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।

६६ रन बनाएका उनले ९३ बलमा ८ चौका प्रहार गरे । सातौं विकेटको रुपमा आउट भएका कुशलले मध्यक्रमका ब्याटरबाट राम्रो साथ पाउन सकेनन् । अर्का ओपनर आसिफ शेख १७ रन बनाएर आउट भए । उनी भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए । आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे ।

आसिफ आउट भएपछि ब्याटिङमा आएका अनिल साह चल्न सकेनन् । उनी ७ रनमा आउट भए । दुई ओभरपछि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो । त्यतिबेला नेपालले १३ ओभरमा ३ विकेट गुमाउँदा ५४ रन जोडेको थियो । कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके । आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए । उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे । दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भए । डि लीडको बलमा रोहितले हानेको प्रहार लिडको खुट्टामा छोएर स्टपमा लागेपछि ऐरी दुर्भाग्यपूर्णरुपमा रनआउट हुन बाध्य भए । त्यतिबेला ऐरीले क्रिज छाडेका थिए । दुई ओभरपछि भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए । यस्तै गुल्सन झा पनि ५ रनमा दत्तको बलमा क्याच भए ।

आरिफ शेखले २२ रन जोडे । उनले करण केसीसँग ३६ रनको साझेदारी गरेका थिए । ४९ ओभरमा आउट हुनुअघि उनले ५० बलमा १ चौका हिर्काए । करण केसीले अन्तिम विकेटको रुपमा आउट हुनुअघि २६ रन जोडे । उनले २७ बलमा १ चौका र २ छक्का हिर्काउँदा नेपालले १५० रन कटाएको थियो । बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्मा र अर्यन दत्तले ३–३ विकेट लिए । डि लीडले २ विकेट लिन सफल भए । आजको खेल जारी सिरिजको अन्तिम खेल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर