प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको बताएका छन्। माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा उनले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि सरकारले आवश्यक निर्णय लिने बताए।

उनले भने, “बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । सरकारले आयोग बनाएर छानबिन गर्ने निर्णय गरेको हो, प्रतिवेदन अध्ययनको प्रक्रियामा छ । अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौँ । यो सरकारको क्षेत्राधिकार हो । प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ ।” यस्तै प्रधानमन्त्रीले तीन करोडभन्दा कम लागतका योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन्। उनले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए।

उनले भने, “कनिका छरे जसरी बजेट निर्माण गर्दा विकास र समृद्धि हासिल गर्न सकिँदैन । अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौँ । तीन करोडभन्दा कम लागतका साना योजना प्रदेश र स्थानीय तहले नै सञ्चालन गर्छन्, बजेटको क्षेत्र तोकेर पठाइन्छ, आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई प्रदान गरिन्छ ।”

बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूची छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर