स्नातक शिक्षा तीन वर्षमा झार्ने नयाँ उपकुलपतिको योजना
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नव उपकुलपति प्राडा केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उनले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहज भएको महसुस भएकाले स्नातक शिक्षाको एक वर्ष कटौती गर्न लागेको बताए ।
त्रिभुवन विश्वविद्यालयले २०७१र०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो । विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने उनको भनाइ छ । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए ।
यस्तै शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइने उनको भनाइ छ।उपकुलपति बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । उनले थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने प्रतिबद्धता पनि जनाए ।
त्रिविको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने उल्लेख छ । त्रिविका कतिपय विभागमा विद्यार्थीभन्दा अध्यापकहरूको सङ्ख्या धेरै रहेको छ । उपकुलपति बरालले भने आंगिक क्याम्पसहरूमा रहेका अनावश्यक विभागसमेत गाभेर स्कुल बनाउने घोषणा गरेका हुन् । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीहको गुनासो छ ।