संसदका तीन विपक्षी दलको घेराबन्दीमा प्रचण्ड सरकार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन मन्त्रीको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकको सुरुमा विशेष समयमा एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन्।
उनले बालकुमारी घटनामा जोडिएका मन्त्री ज्वाला, अख्तियारमा बयान दिनका लागि पुगेका स्वास्थ्यमन्त्री बस्नेत र लुम्बिनीको रामग्राम क्षेत्रमा गरेको कामको विरोध गर्दै मन्त्री किराँतीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
यसैगरी प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद मात्रै नभई सडक पनि अवरुद्ध पार्ने चेतावनी दिएको छ। प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसद विराजभक्त श्रेष्ठले भने, ‘सभामुख महोदयमार्फत सरकालाई चेतावनी पनि दिन चाहन्छु, यसरी प्रतिपक्षीलाई नसुन्ने हो भने संसद् पनि अवरुद्ध हुन्छ, आन्दोलन पनि हुन्छ। तर, सरकारले हामीलाई के दोष दिन पाउँदैन् त भने प्रतिपक्षले संसद् चल्न दिएन, प्रतिपक्षीले नेपथ्यबाट जनताको पीडा राख्दा सरकारले सुन्दैन भने संसद् मात्रै होइन सडक पनि अवरुद्ध हुन्छ ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बालकुमारी घटनाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आएर बोलेको विषयप्रति आपत्ति जनाएका छन्। गत फागुन ६ गते बसेको संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनामा हत्या भएको स्वीकार गरेको भन्दै सांसद शाहीले हत्यारा खोजेर कारबाही गर्नुपर्ने बताए।
‘फागुन ६ गतेको संसद् बैठकको १२ बजेर १२ मिनेट २७ सेकेन्डमा एउटा शब्द उच्चारण गर्नुभो। बालकुमारीको घटना हत्या भएको हो भन्नुभएको छ,’ उनले भने, ‘बालकुमारीको घटना हत्या भएको हो भने, आदेश दिने गृहमन्त्री, त्यहाँ जाने भौतिकमन्त्री र गोली हान्ने प्रहरीका डीएसपीलाई अहिले जेल किन नहालेकोरु प्रधानमन्त्री जस्तो मान्छेले यहाँ आएर जे पायो त्यही बोल्न पाइँदैन।’
यसैगरी सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनाको विषयमा सांसदहरूले उठाएको विषयको जवाफ दिन रुलिङ गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर