सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नहरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । रौतहटको गढीमाई नगरपालिकाबाट सर्लाहीको हजरियातर्फ आलु खन्न आएकाहरू चढेको ट्याक्टर अनियन्त्रित भई नहरमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टरका धनीसमेत रहेका चालक गढीमाई नगरपालिका–९, का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

दुर्घटनामा गढीमाई नगरपालिका–९ कै १७ वर्षीय आकाश सहनी, १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, ४५ वर्षीय सुकल देवी, १८ वर्षीया नितेश सहनी र १६ वर्षीया अन्चला कुमारी घाइते भएका छन् । उनीहरूमध्ये आकाश र किसनको वीरगन्ज, गर्भी देवी, सुकल देवी र नितेशको गौर तथा अन्चला कुमारीको गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ । नहरको डिलमा रहेको साँघुरो बाटोबाट ट्याक्टर करिब २५ फिट तल खसेको छ ।

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते

यसैगरी सल्यानको बनगाड कुपिण्डेमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोट जाँदैगरेको भे १ द्ध ३३४४ नम्बरको जिप सल्यान बनगाड कुपिण्डे नगरपालिका –१ टाट्केमा अनियन्त्रित भई जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिपचालक जाजरकोट छेडागाड नगरपालिका–५ बस्ने २० वर्षीय शिखर चदारा, सोही ठाउँका ८४ वर्षीय भदे डाँगी, ५७ वर्षीय लालबहादुर डाँगी, वडा ६ का ३९ वर्षीय जयबहादुर थापा र ५८ वर्षीय वीरे टमाटा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले घाइते भदे डाँगीको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको जानकारी दिए । जिप अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर